नेपाली कांग्रेस पर्साको नगर, गाउँ, पालिका स्तरीय तथा जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्रै हुने भएको छ । बीरगंज महानगरपालिका सहित १४ वटा पालिका रहेको पर्सामा पालिका अधिवेशनलाई पछाडी धकेलेर भोली प्रदेश र १३ गते क्षेत्रिय अधिवेशन गर्ने कार्यक्रम तय भएको छ । यसअघि कांग्रेसको १२ र १३ औं महाधिवेशनमा पनि पर्सा जिल्लाको जिल्ला अधिवेशन, केन्द्रीय महाधिवेशनपछि नै भएको थियो । अहिले १४ औं महाधिवेशनमा पनि पर्सामा नेताहरुको असक्षमता र गुटबाजीका कारण कांग्रेसको पालिका र जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशन पछि हुने भएको हो । क्रियाशिल सदस्यता विवादका कारण वडा अधिवेशन तोकिएको समयमा सम्पन्न हुन नसक्दा जिल्ला र नगर तथा गाउँपालिका स्तरीय अधिवेशन पछाडी धकेलिएको र अब यी अधिवेशनहरु केन्द्रिय महाधिवेशन पछि सम्पन्न हुने सहमति भएको छ । नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले जिल्ला स्थित प्रदेश स्तरीय अधिवेशन भोली शनिवार सम्पन्न गरिने कार्यक्रम तय भएको र क्षेत्रिय अधिवेशन १३ गते भएपछि महाधिवेशन प्रतिनिधिहरु चयन हुने हुँदा केन्द्रिय तथा प्रदेश महाधिवेशनका लागि समस्या नहुने बताउनु भयो । भोली पर्साका ८ वटा प्रदेश निर्वाचन क्षेत्रमा प्रतिनिधि चयन गरिने भएको छ । पर्सा जिल्लामा कुल १ सय १२ वटा वडा रहेकोमा कांग्रेसको १ सय ११ वटा वडामा अधिवेशन सम्पन्न भइसकेको छ । छिपहरमाइ गाँउपालिका वडा नम्बर १ को वडा अधिवेशनको विषयमा विवाद भई अदालतमा मुद्दा परेको कारण सो वडा भने नेतृत्व चयन हुन नसकेको बताईएको छ ।