पुरातत्व तथा विकास समितिका सभापति आशिष गजुरेल र बारा सांसद अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाहको स्थलगत अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनीहरूले बन्दरगाहको भौतिक अवस्था, व्यवस्थापकीय पक्ष तथा सञ्चालन प्रक्रियाबारे जानकारी लिएका छन्।
अनुगमनका क्रममा समितिका सभापति गजुरेलले बन्दरगाहको प्रवेशद्वार २४ घण्टा सञ्चालन हुने व्यवस्था मिलाउन सम्बन्धित पक्षलाई निर्देशन दिएका छन्। बन्दरगाहको सेवा थप प्रभावकारी बनाउन तथा आयात–निर्यात प्रक्रियालाई सहज बनाउन प्रवेशद्वारको नियमित सञ्चालन आवश्यक रहेको विषयमा उनले जोड दिएका हुन्।
सार्वजनिक–निजी साझेदारीको अवधारणाअन्तर्गत निजी क्षेत्रबाट सञ्चालन हुँदै आएको सुक्खा बन्दरगाहको व्यवस्थापन, सञ्चालनको प्रभावकारिता तथा दैनिक कार्यसम्पादनका क्रममा देखिएका समस्याबारे जानकारी लिन अनुगमन गरिएको गजुरेलको निजी सचिवालयले जनाएको छ।
अनुगमनका क्रममा बन्दरगाहको भौतिक पूर्वाधार, व्यवस्थापकीय अवस्था र सञ्चालन प्रक्रियालाई थप व्यवस्थित बनाउन आवश्यक सुधारका विषयमा समेत जानकारी लिइएको थियो। बन्दरगाहको सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै व्यवसायी तथा सेवाग्राहीले भोग्नुपरेका समस्याको समाधान गर्नुपर्ने विषयमा पनि छलफल भएको जनाइएको छ।
वीरगञ्ज सुक्खा बन्दरगाह नेपालको वैदेशिक व्यापारका लागि महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको छ। यस बन्दरगाहको प्रभावकारी सञ्चालनले आयात–निर्यात प्रक्रियालाई सहज बनाउन तथा व्यापारिक गतिविधिलाई व्यवस्थित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बन्दरगाहको सञ्चालनमा देखिएका समस्या पहिचान गरी आवश्यक सुधारका उपाय अवलम्बन गर्न तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन अनुगमन गरिएको सचिवालयले जनाएको छ।