बिगत केही वर्ष देखी बीरगंजमा अबिरल वर्षा नहुदां पानीको हाहाकार मच्चेको छ । वर्षा नभएपछि नगरक्षेत्रमा रहेका चापाकल सुक्न थालेपछि बीरगंजमा पानीको समस्या उत्पन्न भएको हो । चापाकलले पानी दिन छाडेपछि गर्मीयाममा नगरवासीहरु पानीबाट बञ्चित नहोस भन्दै बीरगंज महानगरपालिका नगर प्रमुख राजेश मान सिंह आफैं ट्यांकी र ट्यांकरसहित विभिन्न बस्तीमा पुगेका हुन् ।
“वीरगंजवासीलाई पानीको अभावमा राखिन्न, जहाँ समस्या छ, त्यहाँ तत्काल समाधानको प्रयास गर्नेछौँ ।” पानीको समस्या ३२ वटै वडामा रहेको र सबै वडामा समान रुपमा पानी पुर्याउने गरि संयन्त्र परिचालन गरिएको पनि उहाँले बताउनुभयो ।
महानगरपालिकाले संकटग्रस्त स्थानहरूमा १० हजार, ५ हजार र २ हजार लिटर क्षमताका ट्यांकीहरू राखेर पानीको समस्या समाधान गर्ने प्रयास गरेको छ । ती ट्यांकीहरूमा नियमित पानी भरेर आपूर्ति गर्न ५ वटा ट्यांकर र ३ वटा दमकल परिचालन गरिएका छन् । यो व्यवस्था आजैदेखि चौबिसै घण्टा सञ्चालनमा ल्याइएको महानगर प्रमुख सिंहले जानकारी दिनुभयो । प्रत्येक वडामा स्थानीय प्रतिनिधि, कर्मचारी र स्वयंसेवकमार्फत पानीको तालिकाबद्ध वितरण सुरु गरिएको छ ।