पर्सामा चालु आर्थिक बर्षको प्रथम चौमासिकमा विकास बजेट न्युन रुपमा खर्च भएको छ । स्थानिय तह तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न सरकारी कार्यालयहरुले चालु आर्थिक वर्ष ०७८÷७९ को प्रथम चौमासिकमा विकास बजेट न्यून खर्च गरेका छन । यसले आर्थिक बर्षको अन्त्यमा हतारोमा बजेट खर्च गर्ने प्रवृत्ति यसपटक पनि दोहोरिने संकेत देखिएको छ । संघीय सरकारअन्तर्गतका कार्यालयहरूले गत साउन १ देखि कात्तिक मसान्तसम्ममा कुल वार्षिक बजेटको १२.५४ प्रतिशत मात्र विकास निर्माणमा खर्च गरेको छ । त्यसैगरी प्रदेश सरकारअन्तर्गतका कार्यालयको विकास बजेट खर्चको अवस्था झन् नाजुक रहेको छ । ति कार्यालयहरुले जम्मा १ दशमलव ४५ प्रतिशत बजेट मात्रै ४ महिनामा खर्च गरेको भेटिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय वीरगन्जको तथ्यांकअनुसार संघीय कार्यालयहरूले ४ महिनाको अवधिमा ३ अर्ब ९१ करोड ९५ लाख १० हजार रुपैयाँ विकास बजेटमध्ये ४९ करोड १६ लाख ८८ हजार २ सय ५५ रुपैयाँ ६८ पैसा मात्र खर्च गर्न सकेका छन । वीरगन्ज–पथलैया सडक योजना कार्यालय, पथलैया र हुलाकी राजमार्ग योजना कार्यालय, वीरगन्जबाहेक अन्य कार्यालयले उल्लेख्य विकास बजेट प्रयोग गर्न नसकेको भेटिएको छ । वीरगन्ज–पथलैया सडक योजनाले कुल वार्षिक विकास बजेट ४४ करोड १२ लाख रुपैयाँमध्ये १० करोड ९२ लाख १६ हजार ३ सय ९८ रुपैयाँ खर्च गरेको छ । हुलाकी राजमार्ग योजना कार्यालयले ४० करोड रुपैयाँ वार्षिक बजेट पाएकोमा हालसम्म ७ करोड ३६ लाख ३५ हजार १ सय ८१ रुपैयाँ खर्च गरेको छ । त्यसैगरी सघन सहरी तथा भवन निर्माण आयोजना, वीरगन्जले चालु आर्थिक बर्षको लागि २ अर्ब ९ करोड ५६ लाख ८० हजार रुपैयाँ पाएको मा २६ करोड ४८ लाख ९५ हजार ३ सय ६६ रुपैयाँ मात्र पछिल्लो ४ महिनामा खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । यता प्रदेश सरकारमातहतका कार्यालयहरूले झनै विकास बजेट खर्च गर्न नसकेको तथ्यांकले देखाएको छ । प्रदेश सरकारमातहत पर्सा जिल्लामा १५ सरकारी कार्यालय रहेका छन् । जसको वार्षिक विकास बजेट १ अर्ब ८३ करोड १६ लाख ५९ हजार रुपैयाँ रहेको छ । प्रथम चौमासिक अवधिमा उनीहरूले जम्मा २ करोड ६६ लाख ७ हजार २ सय २९ रुपैयाँ मात्र खर्च गर्न सकेका छन । जुन कुल बजेटको जुन १ दशमलव४५ प्रतिशत मात्रै रहेको जनाईएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका सूचना अधिकृत विष्णुप्रसाद सुवेदीले संघीय कार्यालयअन्तर्गत विकास निर्माणका कामको टेन्डर नलागेर प्रथम चौमासिकमा विकास बजेट खर्च हुन नसकेको बताउनु भयो ।