रौतहट जिल्लाका अधिकांश सरकारी कार्यालयमा लामो समयदेखि दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा कठिनाई भएको छ । जिल्ला स्थित कार्यालयहरुमा गरी हाल झन्डै ३० प्रतिशत दरबन्दी खाली रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । कर्मचारी अभावले गौर अस्पतालमा रहेको भेन्टिलेटर र आईसीयू कक्ष सञ्चालनमा आउन सकेको छैन । ९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा एक जना पनि नभएपछि एक वर्षदेखि भेन्टिलेटर र आईसीयू सञ्चालनमा आउन नसकेको हो । अस्पतालको माथिल्लो तल्लामा १० बेडको आईसीयू र ४ वटा भेन्टिलेटर मेसिन जडान गरिएको छ । ‘दरबन्दीअनुसार चिकित्सक पठाइदिनुस् भनेर हारगुहार गर्दा स्वास्थ्य मन्त्रालयबाट कुनै सुनवाइ भएन,’ अस्पताल प्रमुख डा. कृष्ण साहले भन्नुभयो । जिल्ला प्रशासन कार्यालय गौरमा पनि कर्मचारी अपुग छ । प्रशासनमा लामो समयदेखि सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृत तथा ४ जना नायब सुब्बा र २ जना खरिदारको दरबन्दी खाली रहेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताउनुभया