वीरगञ्ज महानगरपालिकाले मुख्य सडकको दायाँ बायाँ पर्ने घरहरुको नक्सा ३५ दिनभित्र महानगरमा बुझाउन सूचना जारी गरेको छ ।
महानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै १ नम्बर मेन रोड उत्तर गण्डक चौकदेखि दक्षिण शंंकरचार्य गेटसम्मको घरको नक्सा पास भए÷नभएको विवरण महानगरपालिकामा बुझाउन निर्देशन दिएको हो ।
महानगरले निकालेको सूचनामा भनिएको छ, ‘गण्डक चोकदेखि पावरहाउस, घण्टाघर, माईस्थान, महाविरस्थान, आदर्शनगर, अलखिया मठ, विर्ता मन्दिर, सिगरेट फ्याक्ट्री गेट, नारायणी अस्पताल, वीरगञ्ज भंसार कार्यालय हुँदै शंकराचार्य गेटसम्म रोडका दाँया बाँया निर्माण गरिएका संरचना महानगरबाट नक्सा स्वीकृत भए÷नभएको सोको सबुत प्रमाण लिई उपस्थित हुनु ।’
३५ दिन भित्र सबुत प्रमाण नबुझाए स्थानीय सरकार सञ्चालन ऐन, २०७४ वमोजिम कार्वाही गरिने चेतावनी महानगरले दिएको छ ।
महानगरले सडक आसपास बनेका संरचनाको पहिले नक्सा पासको निस्सा पेश गर्न भनेको र दिइएको समयमा निस्सा पेश नगरे अबैध रुपमा संरचना बनाएको ठहर गर्दै त्यस्ता संरचना हटाउने तयारी स्वरुप सूचना जारी गरेको हो ।
नक्सा पास नभई बनेका संरचना भए आफैले हटाउन र नक्सा पास भएको भए निस्सा पेश गर्न ३५ दिनको समय दिँदै सूचना जारी गरिएको वीरगन्जका मेयर राजेशमान सिंहले जानकारी दिए ।
मंगलबार सूचना प्रकाशित भएको र आजदेखि ३५ दिन भित्र अर्थात आगामी असोज २५ गतेसम्म महानगरपालिका कार्यालयको भवन निर्माण तथा इजाजत शाखामा भौतिक संरचनाको नक्सा स्वीकृत गरेको निस्सा सहित उपस्थित हुन पनि सम्बन्धित व्याक्तिलाइ आग्रह गरिएको छ ।
यसअघि महानगरपालिकाले नाला अतिक्रमण गरेर निर्माण गरेका संरचना भत्काएर खाली गराएकोमा अब भने मेनरोड वितारका लागि सडक अतिक्रमण गरी बनाइएका संरचनाहरु हटाउन पहिलो चरणमा सूचना जारी गरिएको र यसपछि अतिक्रमण हटाउने अभियान सुरु हुने मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए ।