म्याद नाघेको औषधी बजारमा पठाएको पाइएपछि वीरगञ्जका २ वटा औषधी कम्पनीको गोदाममा स्थानीय प्रशासनले ताला लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको नेतृत्वमा गएको टोलीले युपीएस फर्मा र जि फर्मा लिंक प्रा.लि.मा छापामारी गरी औषधी गोदाममा ताला लगाएको हो ।
औषधी कम्पनीको गोदाममा म्याद गुज्रेका औषधी पाइएपछि थप अनुसन्धानका लागि गोदाममा सील गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
डाक्टर रेडी फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको म्याद नाघेको औषधि ठूलो परिमाणमा बजार क्षेत्रमा जथाभाबी फालेको गुनासो आएपछि उक्त औषधी वितरक कम्पनीको गोदाम अनुगमन गर्दा गोदाममा पनि ठूलो मात्रामा म्याद गुज्रेको औषधी फेला परेपछि सील गरिएको उनले जानकारी दिए ।
स्थानीय प्रशासनले गोदाममा सील गर्नुका साथै महत्वपूर्ण कागजातहरु पनि नियन्त्रणमा लिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, औषधी व्यवस्था विभाग, खाद्य तथा गुण नियन्त्रण कार्यालय, वडा प्रहरी कार्यालय वीर्ताको टोली संयुक्त रुपमा खटेको थियो ।