जिल्ला प्रहरी कार्यालय पर्साले नजिकिँदै गरेको दशैँ सहितको चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना तयार पारेको छ । दशैं तिहारजस्ता सर्वसाधारणको बढी चहलपहल हुने चाडपर्व लक्षित गरेर विशेष सुरक्षा योजना तयार पारिएको हो ।
चाडबाडको मौका छोपेर हुन सक्ने आपराधिक गतिविधिलाई रोक्न विशेष सुरक्षा योजना तयार गरेर त्यही अनुसार प्रहरी परिचालित गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।
‘चाडपर्वमा सर्वसाधारण नागरिकको बढी चहलपहल हुन्छ,’ उनले भने, ‘यही मौका छोपेर विभिन्न आपराधिक गतिविधि पनि हुन सक्ने हुँदा गस्ती पेट्रोलिङ बढाउँछौं ।’ संवेदनशील क्षेत्रहरुको सुरक्षा व्यवस्थामा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिने उनले बताए ।
उनका अनुसार सडक, बजार, धार्मिकस्थल लगायतको व्यवस्थापनका लागि आवश्यक प्रबन्ध सुरक्षा योजनामा गरिएको छ ।
खुला सीमा रहेकाले अपराधिक गतिबिधि चाडपर्वको मौका छोपेर हुनसक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न सादा पोशाकमा प्रहरी परिचालन गरिने उनले बताए । आम नागरिकले ढुक्कसँग चाडपर्व मनाउन प्रहरीले शान्ति सुरक्षालाई चुस्त बनाएको भन्दै उनले कुनै पनि अनुचित क्रियाकलाप भएको देखे तत्काल प्रहरीलाई खबरेर सहयोग गर्न पनि आम नागरिकसँग आह्वान गरेका छन् ।
त्यस्तै चाडपर्वको मौका छोपेर सार्वजनिक सवारीले यात्रु ठग्न सक्ने कुरालाई मध्यनजर गर्दै प्रहरीले सार्वजनिक सवारीका साधनमा पनि सादा पोशाकका प्रहरी खटाउने तयारी गरेको छ । चाडपर्वको समयमा यात्रुबाहक सवारी साधनहरूलाई बढी भाडा असुल्न नदिन सादा पोशाकमा प्रहरी परिचालन गर्ने, सवारी साधनले यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएको पाइएमा तत्काल कानूनी दायरामा ल्याउने गरी आवश्यक तयारी गरिएको प्रहरी उपरीक्षक बस्नेतले बताए ।
..................