गएको ६ वर्षदेखि जन्मकैदको सजायमा जेल जीवन बिताई रहेका संविधानसभा सदस्य रामचन्द्र कुशवाहा ‘प्यासी’ संविधान दिवसको अवसरमा वीरगञ्ज कारागारबाट रिहा भएका छन् ।
तत्कालिन एमालेका नेता महमुद आलमको हत्याको मुख्य योजनाकार ठहर गर्दै एमालेकै नेता रहेका संविधानसभा सदस्य प्याशीलाई उच्च अदालत वीरगञ्जले जन्मकैदको सजाय गरेको थियो ।
संविधानसभाको दोस्रो निर्वाचनको समयमा उम्मेदवारी दर्ता गराएको भोलिपल्ट २०७० असोज १८ मा एमालेका केन्द्रीय सदस्यसमेत रहेका आलममाथि बाराको परवानीपुरस्थित एक उद्योग अगाडि गोली प्रहार भएको थियो ।
गोली प्रहारबाट गम्भीर घाइते भएका आलमको असोज २४ मा काठमाडौंमा निधन भएको थियो । गोली प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दा आलम हत्याको मुख्य योजनाकार प्यासी रहेको खुलेको थियो । अदालतले प्यासीलाई महमुद आलमको ज्यान मार्ने मुख्य योजनाकार ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।
तत्कालीन एमालेका केन्द्रीय सदस्यसमेत रहेका आलमको हत्यामा संलग्न रहेको पुष्टि भएपछि २०७३ वैशाख १५ गतेदेखि जेल सजाय काटिरहेका प्याशीलाई बारा जिल्ला अदालतले उनलाई १० बर्षको जेल सजाय सुनाएको थियो । तर जिल्ला अदालतको फैसला प्रति असन्तुष्टि जनाउदै आलम पत्नि नेजमाले २०७३ कार्तिक ५ गते उच्च अदालत अस्थायी इजलाश वीरगन्जमा पुनरावेदन गरेकी थिइन् ।
उच्च अदालत अस्थायी इजलाश वीरगन्जका एक नम्बर इजलासका मुख्य न्यायधीश डिल्लीराज आचार्यको इजलासले आलमको ज्यान मार्ने मुख्य योजनाकार ठहर गर्दै प्यासीलाइ मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(४) बमोजिम जन्मकैदको फैसला सुनाएको थियो ।
आलमको हत्यामा संलग्न अतिक खान, राजु श्रीवास्तव र महमद फहद भनिने बिपिन यादवलाई भने अदालतले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १६ बमोजिम १० बर्षको फैसला सुनाएको थियो ।
वीरगन्ज कारागारका जेलर मदन घिमिरेले रामचन्द्र कुशवाहा संविधान दिवसको उपलक्ष्यमा रिहा भएको जनाए । ‘कानुनमा ४० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई छाड्ने व्यवस्था छ, त्यसैको प्रयोग गरी संविधान दिवसको अवसरमा कुशवाहा रिहा भएका हुन्,’ जेलर घिमिरेले भने । उनका अनुसार संविधान दिवसको अवसरमा रिहा हुने कैदीबन्दीहरुको नाम कारागारबाट सिफारिस भएर कारागार विभागमा पठाइन्छ ।
‘कारागार विभागले नामहरु केही छाँटेर मन्त्रिपरिषद्मा पठाउँछ,’ जेलर घिमिरेले भने, ‘मन्त्रिपरिषद्ले निर्णय गरेपछि कैदीहरुको नाममा राष्ट्रपतिकहाँ पठाइन्छ, राष्ट्रपतिले स्वीकृति दिएपछि संविधान दिवसको दिनमा कैदीहरु रिहा हुने गरेका छन् ।’
राष्ट्रपतिबाट कैद मिनाहा पाएर रिहाइ भएका प्याशीलाई उनका समर्थकले काराकारबाहिर अबिर र फुलमाला लगाएर स्वागत गरेका थिए ।