वीरगञ्ज कारागारमा कैदी जीवन विताई रहेका ३८ जना कैदीबन्दी संविधान दिवसको अवसर पारेर रिहा भएका छन् ।
संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा कैदी बन्दीको कैद कट्टा तथा सजाय माफी गरेसँगै वीरगञ्ज कारागारबाट ३८ जना कैदिबन्दी कारागारमुक्त भएका हुन् ।
कारागार मुक्त हुनेहरुमध्ये ३७ जनाको कैद कट्टा गरिएको छ भने १ जनाको कैद सजाय मिनहा गरिएको छ । रिहा हुनेमा ६ जना महिला तथा ३२ जना पुरुष रहेको कारागार प्रशासनले जनाएको छ ।
१ जनाको कैद सजाय माफी भएको छ भने अन्यको कैद कट्टा भएर रिहा गरिएको कारागारका जेलर मदन घिमिरेले जानकारी दिए ।
रिहा हुनेहरुमा कर्तव्य ज्यान मुद्दाका १४ जना पुरुष र ५ जना महिला, ज्यान मार्ने उद्योगमा ८ जना पुरुष र १ जना महिला, चोरी मुद्दामा २ जना, डाँका मुद्दाका १ जना, सवारी ज्यान मुद्दाका ३ जना, लिखित सम्बन्धी कसुररकिर्ते मुद्दाका २ जना, वन पैदावार काठ चोरी मुद्दाका १ जना, हातहतियार मुद्दाका १ जना गरि ३८ जना कैदी कारागारमुक्त भएको उनले जानकारी दिए ।
कारागारमुक्त हुनेहरुलाई कारागारका जेलर मदन घिमिरेले आगामी जीवन सखुमय होस भन्दै अविर टिका लगाएर विदाई गरेका थिए ।
संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था अनुसार राष्ट्रपति भण्डारीले विगत वर्षहरू झै देशका विभिन्न कारागारमा रहेका ६८१ जना कैदीको कैद कट्टा गरेकी हुन् । यसैगरि देशभरिमा २१ जना कैदीले सजाय माफी पाएका छन् । संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ अनुसार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूको सजाय माफी भएको गरिएको हो ।