कृषि सामग्री कम्पनीले मगाएको मध्ये २५ सय मेट्रिकटन डिएपी मल वीरगञ्ज आइपुगेको छ ।
कम्पनीको दोस्रो कन्साइन्मेन्टको २० हजार मेट्रिक टनमध्ये २५ सय मेट्रिक टन डिएपी मल वीरगन्ज स्थित सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको हो ।
ग्लोबल टेन्डरबाट ठेक्का पाएको स्विस सिंगापुर कम्पनीले जोर्डनबाट उक्त मल खरिद गरी ल्याएको हो ।
गहुँ बाली सिजनका लागि उक्त मल ल्याइएको कम्पनीको वीरगन्ज प्रादेशिक कार्यालयका सूचना अधिकृत आलोक कुमारले बताए ।
‘दोस्रो कन्साइन्मेन्टमा कम्पनीले कुल २० हजार मेट्रिक टन डीएपी मल भित्र्याउन लागेको छ । त्यसमध्ये वीरगञ्ज प्रादेशिक कार्यालयका लागि ८ हजार र भैरहवा प्रादेशिक कार्यालयका लागि ७ हजार मेट्रिक टन गरी १५ हजार मेट्रिक टन डीएपी रेलबाटै सिर्सिया सुक्खा बन्दरगाह आउँदै छ ।’ उनले भने, ‘बाँकी रहेको ५ हजार मेट्रिकटन डीएपी विराटनगर प्रादेशिक कार्यालयका लागि कोलकाता बन्दरगाहबाट सोझै ट्रकमा ढुवानी गरी ल्याइँदै छ ।’
स्विस सिंगापुरले ग्लोबल टेन्डरबाट ४० हजार मेट्रिक टन डीएपी मल आपूर्तिको २ वटा ठेक्का पाएकामा पहिलो कन्साइन्मेन्टमा २० हजार मेट्रिकटन ल्याइसकेको छ । त्यसमध्ये १५ हजार मेट्रिकटन वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाहमै आएको थियो । ५ हजार मेट्रिकटन कोलकाताबाट विराटनगर ल्याइएको थियो । त्यतिबेला पनि वीरगन्ज आएको १५ हजार मेट्रिक टनमध्ये ८ हजार मेट्रिक टन वीरगन्ज, ७ हजार मेट्रिक टन भैरहवा प्रादेशिक कार्यालयले पाएका थिए ।
कम्पनी वीरगञ्ज प्रादेशिक कार्यालयले मधेस, वाग्मती र गण्डकी प्रदेशका १६ जिल्लामा मल परिचालन गर्दै आएको छ । हाल किसानबाट डीएपी मलको माग नआएकाले भण्डारण गरिने आलोक कुमारले जानकारी दिए ।