वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन ९मिटर ब्याज० सम्बन्धी परेको उजुरीमध्ये हालसम्म ४३८ उजुरी फर्छ्योट गरेको छ ।अनलाइनबाट दर्ता भएका १ हजार ३२१ उजुरीमध्ये छलफल विधिबाट ४३८ वटा उजुरी पीडितको पक्षमा फर्छ्योट गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिए ।यस्तै सहमति नभएपछि दुई वटा उजुरीको आधारमा मुद्दा दर्ता भएको जनाइएको छ । दर्ता भएका उजुरीमध्ये ८४५ उजुरीको छानबिन गर्दा ४३८ वटामा दुवै पक्षबिच सहमति भएर फर्छ्योट भएको सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले बताए । उनका अनुसार छानबिनपश्चात् ८४ कित्ताको १६ बिघा ६ कट्ठा ८ धुर जग्गा र दुवै पक्षको सहमतिमा ८ करोड ७२ लाख ६४ हजार ६१ फिर्ता गराइएको छ ।
मिटर ब्याजीविरुद्ध हाल अनलाइनबाट दर्ता भएका उजुरीमा सबैभन्दा बढी लेनदेन र जग्गा–जमिनसम्बन्धी मिटर ब्याज पीडितको उजुरी बढी छ । कसै–कसैले थोरै रकम दिएर त्यसबापत बढीको कपाली तमसुक गरेको, दोब्बर तेब्बरसम्म बढीको बैंक चेक धितोबापत राख्ने प्रवृत्ति रहेको पाइएको सहायक प्रजिअ लम्सालले जानकारी दिए ।
परेको उजुरीको छानबिनका क्रममा दुवै पक्षबाहेक कपाली वा अन्य कागजात लेख्ने लेखापढी, साक्षीलाई समेत कार्यालयमा बोलाएर आवश्यक सोधपुछ गर्ने, आवश्यक प्रमाण खोज्ने र सहमतिका लागि अधिकतम प्रयास गर्ने गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए ।छानबिनका क्रममा लेनदेन गर्नेहरूको कागजमा उल्लेख रहेको रकम लेनदेन गर्ने हैसियत तथा आवश्यकता र स्रोत रहेरनरहेको समेत अनुसन्धान गर्ने गरिएको प्रजिअ रेग्मीको भनाइ छ ।‘उजुरीको छानबिन गर्दा सकेसम्म सहमतिमै समस्या समाधान होस् भन्ने नै हाम्रो चाहना रहन्छ,’ प्रजिअ रेग्मीले भने, ‘त्यहीअनुसार हामीले उजुरीकर्ता र आरोपित दुवै पक्षलाई सहमतिका छलफल गराउँछौँ, अहिलेसम्म धेरैजसोमा सहमतिबाटै उजुरीको फर्छ्योट भइरहेको छ, यो राम्रो पक्ष हो ।’