पर्सा जिल्लामा ६ हजार ८ सय भन्दा धेरै भूमिहीन तथा अव्यवस्थित बसोबासी रहेका छन् । राष्ट्रिय भूमि आयोगले पर्सामा ६ हजार ८८९ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको सूचीकृत गरेको छ । भूमि आयोग पर्साले आइतवार पत्रकार सम्मेलन गर्दै हालसम्मको कार्यप्रगतीका बारेमा जानकारी गराएको हो । जसअनुसार पर्साका विभिन्न स्थानीय तहमा गरी १३ सय ६३ जना भूमिहीन दलित, २५ सय ७७ जना भूमीहीन सुकुम्वासी र २९ सय ४९ जना अव्यवस्थित बसोबासी रहेका छन् । आयोगका पर्सा अध्यक्ष तबरेज अहमदका अनुुसार पर्सा जिल्लाको ठोरी गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका, बहुदरमाइ नगरपालिका र वीरगञ्ज महानगरपालिकामा बढी भूमीहीनको समस्या देखिएको छ । ठोरीमा भूमिहीन दलित २६ जना, भूमीहीम सुकुम्वासी १७ सय ४० जना र अव्यवस्थित बसोबासी १९ सय ६ जना सूचीकृत भएको अध्यक्ष अहमदले जानकारी दिए ।
यसैगरी पर्सागढीमा भूमिहीन दलितको संख्या ७ सय ७२, भूमीहीम सुकुम्वासी ३ सय ५७ र अव्यवस्थित बसोबासी ५ सय ५४ जना रहेका छन् । सबैभन्दा कम भूमीहीनको समस्या भने वीरगञ्ज महानगरपालिकामा देखिएको छ ।
आयोगका पर्सा अध्यक्ष अहमदकाअनुसार ५ वटा स्थानीय तह बाहेक अन्य ९ वटा स्थानीय तहमा लगत संकलनको काम भइरहेको छ ।