महामारी कोरोना भाईरसको बखतमा बन्द भएको ठोरी नाकाको छोटी भन्सार कार्यालयको ेसेवा थप गर्दे पुन सञ्चालन आएको छ सङ्घीय सरकारको मन्त्रिपरिषद् बैठकले छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याउने निर्णय गरेकाले बुधवारदेखि ठोरी छोटी भन्सार कार्यालय सञ्चालनमा आएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले बताए । यसअघि उक्त भन्सार कार्यालय सञ्चालनमा रहँदा बखत घरायसी प्रायोजनका लागि भारतबाट ल्याइने अधिकतम १० हजार रुपैयाँ मूल्यका सामानको मात्रै भन्सार प्रज्ञापन पत्र काट्ने सेवा उपलब्ध थियो । तर बुधवारदेखि उक्त सेवासँगै भारतबाट नेपाल आउने सवारी साधनको अस्थायी पैठारीको अनुमति दिने सेवा पनि थप गरिएको पन्थीले बताए । बुधवार आयोजित औपचारिक कार्यक्रममा चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाले रिबन काटेर थप सेवासहितको भन्सार कार्यालय पुनः सञ्चालनको समुद्घाटन गरिन् । कार्यक्रममा चितवनका प्रदेश सभा सदस्य ठाकुर ढकाल, भन्सार विभागका महानिर्देशक ढुण्डी प्रसाद निरौला, चितवनको माडी नगरपालिकाकी मेयर ताराकाजी महतो, ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, सशस्त्र प्रहरी बल नमार १३ गण वीरगञ्जका प्रमुख प्रहरी उपरीक्षक किशन कर्माचार्य लगायतको पनि उपस्थिति रहेको थियो ।