भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार गर्न गएका एक बिरामीको तेस्रो तलाको झ्यालबाट खसेर मृत्यु भएको छ । बिहीबार करिब ११ बजे अस्पतालको झ्यालबाट खसेर गम्भीर घाइते भएका उनको सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा नवलपरासी जिल्लाको हुप्सीकोट गाउँपालिका–२, घर भएको ७६ वर्षीय बलबहादुर खाम्चा मगर भएको चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिनुभयो । मृतक मगर पिसाब थैलीमा क्यान्सर भएकोले अस्पतालमा उपचार गर्न पुगेका थिए । डिएसपी रिजालका अनुसार दृष्टिविहीन मगर बाटो खोजेर बाहिर निस्किने क्रममा झ्यालबाट खस्न गएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि हस्पिटलमा राखिएको बताइएको छ ।