नेपालमा प्रतिबन्धित रहेको लागु औषध सहित पर्सा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बीरगंज महानगरपालिका वडा नम्बर २५ बस्ने २३ वर्षीय राज मह्म्द देवान रहेको पर्साका प्रहरी नायब उपरिक्षक दिपक भारतीले बताउनु भयो । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा बीरगंजबाट बागमती प्रदेश ०३, ००१ ख २६६६ काठमांडौ तर्फ जाँदै गरेको सार्वजनिक बसमा सवार भएका देवानलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा सेतो बोराभित्र म्याटले फोल्ड गरेको ब्लांकेट भित्र कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थामा ठुलो परिणाममा नुरफिन ११९५ पिस, डाइजेपाम १२०० पिस, फेनारगन ११८५ गरी ३५८० एम्पुल सहित राजमहम्द देवान पक्राउ परेका हुन् । देवानलाई लागु औषध मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय पर्सामा अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिनुभएको छ ।