नेतृत्वले चाहायो भने के हुदैन भन्ने उदाहरण अहिले वीरगंजलाई हेरे हुन्छ । हिजो फोहोर दुर्गन्ध र अस्तव्यस्त छि छि र दुर दुर गर्ने वीरगंज अहिले सफा र आहा वीरगंजमा परिणत भएको छ । बीरगन्जलाई ‘बैभव बीरगन्ज’ बनाउने उद्घोषका साथ निर्वाचनमा होमिनु भएका नगर प्रमुख राजेशमान सिंहले आफ्नो तिस महिने कार्यकालमै वीरगंजलाई छि छि बाट सफा सुन्दर वीरगंजमा परिणत गर्नुभएको छ ।
बजेट बिनियोजनको हिसावले संघिय सरकारको बिभेदको सिकार समेत बनेको वीरगंज महानगरपालिका थोरै बजेटमा कामगर्न बाध्य छ । थोरै बजेटबाट भएपनि तिस महिना भित्र वीरगंजमा नगरको सरसफाई, सौन्दर्यकरण, स्वास्थ्य शिक्षा खानेपानी लगायतका जनताका आधारभूत आवश्यकता सँगै विकास निर्माणका समेत धेरै योजनाहरु महानगरले अगाडी बढाएको छ ।
नेपालको आर्थिक राजधानी भनेर चिनिने वीरगंजलाई बैभव वीरगंज बनाउन नगरप्रमुख सिंहले धार्मिक, आर्थिक, औद्योगिक र कृषिलाई जोडेर समृद्धिको खाका कोर्नुभएको छ । वीरगंजले अहिले आर्थिक गतिबिधी र पर्यटकिय सम्भावनालाई केन्द्रमा राखेर विकासका योजनाहरु अगाडि बढाएकोमा महानगरबासीहरुले नगरप्रमुख सिंहले गर्नुभएको कामलाई साथ दिएका छन् ।
बीरगन्जको सरसफाई र सौन्दर्यकरण, उज्यालो वीरगंजले ल्याएको परिवर्तन पछि नगरबासीमा बर्तमान नेतृत्व प्रति आशा र भरोसा बढ्दै गएको छ । हाल भएका परिवर्तनहरु समेत आफनो एकल प्रयासले मात्र नभई यसमा सम्पूर्ण बीरगन्जबासीको साथ र सहयोग रहेको नगर प्रमुख सिंहले बताउनुभयो । उहाँले भन्नु भयो हामीले कुनै ठूलो काम गरेका छैनौं बीरगन्जले पाएका विरासतहरुको सौन्दर्यकरण सरसफाई र उज्यालो छर्ने काम मात्र गरि दिएका छौं ।अझै धेरै गर्न बाँकी छ ।’
बैभव बीरगन्ज’ बनाउने महानगरको अभियानमा बीरगन्जबासीका साथै मिडियाकोपनि उत्तिक्कै साथ र सहयोग आफूले पाएकोमा नगरप्रमुले खुशी व्यक्त गर्दै बीरगन्जलाई धार्मिक पर्यटकीय गन्तब्य तथा शिक्षा र स्वास्थ्यको हब बनाउने अभियानमा आफू लागिसकेको र यसमा नगरबासीको साथ र समर्थन पूर्णरुपले पाईरहेको दाबी गर्नुभयो ।
हिजो अतिक्रमणमा परेका, प्रचार प्रसारको अभावमा ओझेलमा परेका धार्मिक स्थलहरुको प्रचार प्रसार र अतिक्रमण मुक्त बनाउदा अब मधेस तथा भारतीय पर्यटकलाई पशुपतिनाथको दर्शन गर्न काठमाडौंमै जानु पर्ने अवस्थाको अन्त्य भएको छ । किनकि बीरगन्जमै पशुपतिनाथ मन्दिर छ । यस्तै भगवान राम र माता सिताको दर्शन गर्न भारतको अयोध्या र जनपुरधाम नै जानु पर्दैन ।बीरगन्जमै रामजानकी मन्दिर पनि छ ।’
’विरासतमा पाएका यिनै पूर्वाधारलाई सौन्दर्यकरण र सरसफाइ गरेर यो शहरलाई सुन्दर बनाउन आफूले प्रयत्न गरिरहेको नगर प्रमुख सिंहले बताउनुभयो । ’बीरगन्ज भनेको सम्भावना नै सम्भावना बोकेको शहर भएकाले वैभव बीरगन्ज अभियान आफ्नो पाँच बर्षिय कार्यकालमा पुरा गरेरै छाड्ने प्रतिबद्धता उहाँको छ ।
बीरगन्जलाई आर्थिक नगरी भनेर प्रचार गरिएपनि त्यसको वास्तविक अनुभूती बीरगन्जबासीले अहिलेसम्म गर्न नपाएको गुनासो गर्दै उहाँले देशमै सबै भन्दा बढी उद्योग कलकारखाना रहेको यसक्षेत्रको विकासको लागि राज्यले ध्यान नदिएकोमा चिन्ता प्रकट गर्नुभयो ।
बीरगन्जलाई महानगर बनाउँदा ग्रामीण भेगका १६ वटा वडा थपिएको र ती वडामा महानगर हुनका लागि आवश्यक मापदण्ड अनुसारको सडक र अन्य भौतिक संरचना केहि नभएको बताउँदै आँफु नेतृत्वमा आएदेखि ग्रामिण वडामा सडक र भौतिक संरचना निर्माणको काम सुरु गरिसकेको जानकारी दिनुभयो ।
उहाँले संघीय सरकारले देशमा रहेका ६ महानगरमध्ये सबैभन्दा कम बजेट बीरगन्ज महानगरलाई दिने गरेका कारण बजेटको अभावमा आँफुले सोचे अनुसारको काम गर्न नसकिरहेको गुनासो गर्दै संघीय सरकारले काठमाडौं महानगरलाई १४ अर्व ५० करोड बजेट विनियोजन गर्ने यता वीरगंज महानगरपालिकालाई भने १ अर्व १५ करोड बजेट पठाउने गरेकोमा दुःख व्यक्त गर्दै वीरगंज प्रतिको बिभेद अन्त्य गर्न संघिय सरकार सँग माग समेत गर्नुभयो ।
नगर प्रमुख सिंहको कार्यकुशलता, कामगर्ने शैली, हक्कि स्वभाव, खुलेर कुरा गर्ने बानीले आफू प्रभाबित भएको बताउँदै वीरगज महानगरपालिका वडा नम्बर १६ का युवा विनय साहले बर्तमान मेयर युवावर्गको आईडल भएको दाबी गर्नुभयो । त्यसैगरी वीरगंज महानगरपालिका वाडा नम्बर ३१ का रामाकान्त चौधारीले विकास निर्माणमा पछाडी परेका वडालाई नगरप्रमुखले प्राथमिकतामा राखेर बजेट विनियोजन गरी पिछडीएका वडाका बासिन्दाको पिडालाई बुझ्ने अभियान सुरु गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।
नगरक्षेत्रमा गर्नुपर्ने काम धेरै भएको र बजेटको अभाव हुँदा चाहेर पनि महानगरपालिकाको नेतृत्वले काम गर्न सकिरहेको छैन । यसतर्फ नगरबासीले बुझेको हुँदा आफूलाई कामगर्न थप प्रोत्साहन मिलेको नगरप्रमुख सिंहले बताउनुभयो ।