त्रिभुवन राजपथ अन्तर्गत पर्ने बीरगंजको मुख्य सडक बिस्तार गर्न नहुने भन्दै घरधनीहरुले सर्वाेच्च अदालतमा दायर गरिएको रिटको सुनवाई आउने साउन १३ गतेको लागी तोकिएको छ । बुधवारको लागि तोकिएको पेसी विपक्षी पक्षका विभिन्न कार्यालयमा सूचना नपुगेको भन्दै सरेर अब साउन १३ गतेका लागि तोकिएको अदालत स्रोतले जनाएको छ। बीरगंजको मुख्य सडक फराकिलो नहुनुपर्ने भन्दै दायर भएका पाँचवटा छुट्टाछुट्टै उत्प्रेषण मुद्दालाई न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत फागुन २८ गते खारेज गरिसकेको थियो। ती रिटहरू लक्ष्मण साह रौनियार, वीरेन्द्रकुमार संघई, राजकुमारीदेवी तुल्स्यान, भरत साह रौनियार र सुधीरकुमार वर्णवालले दायर गरेका थिए।
उक्त रिटहरूमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन कार्यालय हेटौंडा, जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा लगायतलाई विपक्षी बनाइएको थियो। सडक बिस्तारको बिरोधमा असार ३२ गते नयाँ उत्प्रेषण रिट दर्ता गरिएको थियो । सर्वाेच्च अदालतले बुधवार छलफलका लागि पेसीमा राखिएको थियो। नयाँ रिटमाथि आज सुनुवाइ हुन नसकेपछि मुद्दा अब साउन १३ गते हेर्न राखिएको हो।