जिल्ला प्रहरी कार्यालय पर्सा परिसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन गरिएको छ।
“महिला र बालबालिकाका लागि न्याय र संरक्षण सेवाहरूमा पहुँच सुदृढ गर्दै” भन्ने उद्देश्यसहित निर्माण गरिएको उक्त भवनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सुरक्षित, गोपनीय तथा सहज वातावरणमा सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले पर्सा जिल्ला मुलुककै महत्वपूर्ण आर्थिक तथा राजस्व संकलन हुने सीमावर्ती जिल्ला भएकाले यहाँको सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। उनले सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सम्पूर्ण सुरक्षा निकायलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिँदै नागरिकलाई छिटो, छरितो तथा विश्वासिलो सेवा दिन प्रहरी संगठन प्रतिबद्ध रहेको बताए।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने हिंसा, दुर्व्यवहार तथा सामाजिक विभेदका घटनामा संवेदनशील ढंगले काम गर्नुपर्ने उल्लेख गर्दै उनले नयाँ सेवा केन्द्रले पीडितमैत्री वातावरणमा न्यायिक पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। “प्रहरी र समुदायबीच विश्वास, सहकार्य र निरन्तर संवाद कायम भए मात्रै दिगो शान्ति, सुरक्षा र सामाजिक सद्भाव सम्भव हुन्छ,” उनले बताए।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, पर्सा जिल्ला अदालतका जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मी, प्रमुख जिल्ला अधिकारी भोला दाहाल मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक गोविन्द थपलिया, नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइराला, नेपाल पत्रकार महासंघका केन्द्रिय सिचव अशोक तिवारी , नेपाल पत्रकार महासंघ पर्साका पदाधिकारी , राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी उपरीक्षक ग्यानेन्द्र बस्नेत तथा राष्ट्रिय अनुसन्धान विभाग पर्साका उपअनुसन्धान निर्देशक सन्तोष ढुंगाना लगायत सुरक्षा निकायका अधिकारीहरूको पनि सहभागिता रहेको थियो।