वीरगञ्ज–रक्सौल मितेरीपुल क्षेत्रमा अटो रिक्सा चालकहरूलाई लक्षित गरी लागू औषध दुर्व्यसन रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म वीरगञ्ज, तथा ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगरको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै डिएसपी अधिकारीले लागू औषध दुर्व्यसन समाजका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै सीमावर्ती क्षेत्रमा सचेतना अभिवृद्धि गर्नु आवश्यक रहेको बताए। उनले अटो चालकहरू समाजसँग प्रत्यक्ष जोडिने भएकाले लागू औषध नियन्त्रण अभियानमा उनीहरूको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गरे।
कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म वीरगञ्जका डिएसपी बिकाश अधिकारीको प्रमुख आतिथ्य तथा ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा भारतीय एसएसबीका जवान, सामुदायिक प्रहरीका पदाधिकारी तथा अटो रिक्सा चालकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।