सडक विभाग डिभिजन कार्यालय हेटौंडाले वीरगञ्जको गण्डक क्षेत्रबाट सडक सिमाभित्र रहेका अतिक्रमित संरचना हटाउन शुक्रबारदेखि पुनः डोजर परिचालन गरेको छ।
सडक विभागका इन्जिनियर दुर्गा प्रसादका अनुसार केही दिनअघि सडक सिमाभित्र निर्माण गरिएका घर तथा अन्य संरचना भत्काइएपछि सम्बन्धित घरधनीलाई निर्माण सामग्री तथा बाँकी संरचना स्वयम् हटाई क्षेत्र खाली गर्न निर्देशन दिइएको थियो। तर अधिकांशले हालसम्म पनि संरचना पूर्ण रूपमा खाली नगरेकाले विभागले पुनः डोजर परिचालन गरी अतिक्रमण हटाउने तथा क्षेत्र सफा गर्ने कार्यलाई निरन्तरता दिएको हो।
विभागका अनुसार शुक्रबार विद्युत् लाइन विच्छेद भइसकेका घर तथा संरचनालाई प्राथमिकताका साथ पूर्ण रूपमा हटाइएको छ।
सर्वोच्च अदालतको आदेशअनुसार वीरगञ्जका मुख्य सडकको दायाँ–बायाँ २५–२५ मिटर सडक सिमा कायम गरी सडक फराकिलो बनाउने योजनाअन्तर्गत सडक विभागले अतिक्रमण हटाउने अभियान सञ्चालन गर्दै आएको छ। सोही योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न गण्डक क्षेत्रबाट पुनः डोजर परिचालन गरिएको विभागले जनाएको छ।
सडक विभागले सडक सिमाभित्र परेका संरचना समयमै स्वेच्छाले हटाउन सम्बन्धित सबै पक्षलाई आग्रह गर्दै अन्यथा प्रचलित कानुनबमोजिम हटाउने प्रक्रिया निरन्तर अघि बढाइने स्पष्ट पारेको छ।
उता, सडक सिमा २५–२५ मिटर कायम गर्ने निर्णय पुनर्विचार गर्न माग गर्दै एक दिनअघि वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारी तथा स्थानीय प्रतिनिधिहरू सांसद बुद्धि प्रसाद पन्तलाई साथमा लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग काठमाडौँमा छलफल गरेका थिए।