बारा जिल्लामा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि छिमेकी पर्सा जिल्लामा पनि उच्च सतर्कता अपनाइएको छ। संक्रमण फैलिन नदिन पशु सेवा विभागले निगरानी बढाउँदै व्यवसायीलाई संक्रमित पन्छी तथा पन्छीजन्य उत्पादनको बिक्री–वितरण नगर्न कडा निर्देशन दिएको छ।
विभागले बर्ड फ्लु संक्रमित कुखुरा, हाँस, बट्टाईलगायत पन्छी तथा तिनका उत्पादन बिक्री–वितरण गरेको पाइए प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ।
पशु सेवा विभागका प्रवक्ता डा। मुकुल उपाध्यायले बर्ड फ्लु मानव स्वास्थ्यसँग समेत सम्बन्धित संवेदनशील विषय भएकाले आम नागरिकको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्नुभयो। उहाँले संक्रमण पुष्टि भएका पन्छी वा तिनका उत्पादन बिक्री–वितरण गर्ने व्यक्ति वा व्यवसायीलाई कानुनी कारबाहीको दायरामा ल्याइने स्पष्ट पार्नुभयो।