अदालतले तोकेको जरिबाना नतिरेपछि पक्राउ परेका पर्साको पकाहा मैनपुर गाउँपालिकाका पूर्व अध्यक्ष विजयकुमार चौरसिया जरिबाना बुझाएर रिहा भएका छन्।
प्रहरीले विशेष सूचनाका आधारमा शुक्रबार वीरगञ्ज महानगरपालिका–१३ राधेमाईस्थित पर्सा जिल्ला अदालत नजिकबाट चौरसियालाई पक्राउ गरेको थियो। वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार चौरसियाविरुद्धको कुटपिट मुद्दामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले रु १० हजार जरिबाना गर्ने फैसला सुनाएको थियो। अदालतले तोकेको जरिबाना नतिरेकाले फैसला कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको थियो।
पक्राउपछि चौरसियाले अदालतमा रु १० हजार जरिबाना बुझाएसँगै कानुनी प्रक्रिया पूरा गरी रिहा गरिएको प्रहरीले जनाएको छ।