वीरगञ्जको मुख्य सडक विस्तार गर्ने सरकारी अभियानविरुद्ध स्थानीय घरधनी तथा व्यापारी पुनः आन्दोलनमा उत्रिएका छन्। वीरगञ्ज बजार संघर्ष समिति तथा वीरगञ्ज युवा तथा व्यापारी सडक स्तरीय संघर्ष समितिको अगुवाइमा शनिबार बिहान वीरगञ्जका विभिन्न स्थानमा टायर बालेर विरोध प्रदर्शन गरिएको हो।
सडक डिभिजन कार्यालय हेटौंडा र वीरगञ्ज महानगरपालिकाले सडक सीमाभित्र रहेका संरचना हटाउन डोजर चलाएपछि आक्रोशित बनेका स्थानीयले मुख्य चोक तथा बजार क्षेत्रमा टायर बाल्दै नाराबाजी गरेका थिए।
प्रदर्शनकारीहरूले मुख्य सडकको दायाँ–बायाँ २५–२५ मिटर सडक सीमा कायम गर्ने निर्णय खारेज गरी १५–१५ मिटर मात्र कायम गर्नुपर्ने, घरजग्गाको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने तथा प्रभावित नागरिकका मागप्रति राज्य संवेदनशील हुनुपर्ने माग राखेका छन्।
स्थानीयको विरोधका कारण शनिबार डोजर अभियान सञ्चालन हुन सकेन। सडक डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर दुर्गाप्रसादका अनुसार संरचना हटाउने क्रममा स्थानीयले अवरोध सिर्जना गरेपछि उत्पन्न विवादका कारण डोजर अभियान तत्कालका लागि स्थगित गरिएको हो। प्रशासन र आन्दोलनरत पक्षबीच सहमतिका लागि पहल भइरहेको जनाइएको छ।