बारा र पर्सा जोड्ने कलैया–वीरगञ्ज सडकखण्डस्थित गण्डक चेकपोस्टमा जीर्ण अवस्थामा रहेको राष्ट्रिय झन्डाको स्थानमा नयाँ राष्ट्रिय झन्डा प्रतिष्ठापन गरी फहराइएको छ।
युवा समाजसेवी तथा बारा क्षेत्र नं। ४ का प्रदेशसभा सदस्यका पूर्वप्रत्याशी सञ्जु साहको नेतृत्वमा स्थानीय युवाहरूको सक्रियतामा शनिबार नयाँ राष्ट्रिय झन्डा स्थापना गरिएको हो।
झन्डा स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै साहले नेपाल–भारत सीमासँग जोडिएको महत्त्वपूर्ण गण्डक चेकपोस्टबाट दैनिक रूपमा स्वदेशी तथा विदेशी नागरिकको आवागमन हुने भएकाले यहाँ फहरिने राष्ट्रिय झन्डाले नेपालको पहिचान, स्वाभिमान तथा राष्ट्रिय गौरवको सन्देश प्रवाह गर्ने बताउनुभयो।
उहाँले राष्ट्रिय झन्डा देशको सार्वभौमिकता र राष्ट्रिय एकताको प्रतीक भएकाले यसको सम्मान र संरक्षण गर्नु सबै नागरिकको साझा दायित्व भएको उल्लेख गर्नुभयो। कार्यक्रममा स्थानीय युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।