पछिल्ला केही दिनदेखि बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाले विद्यालयको पठनपाठन समय परिवर्तन गरेको छ।
महानगरपालिकाको शैक्षिक महाशाखाले आइतबार सूचना जारी गर्दै महानगर क्षेत्रभित्र रहेका सम्पूर्ण शैक्षिक संस्थाहरूलाई असार २२ र २३ गते दुई दिनका लागि बिहान ६ बजेदेखि ९ः३० बजेसम्म मात्र कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो।
बढ्दो तापक्रम र गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै महानगरपालिकाले यस्तो निर्णय गरेको जनाएको छ। विशेषगरी विद्यालयमा अध्ययनरत बालबालिकालाई गर्मीबाट जोगाउन र पठनपाठनलाई सुरक्षित वातावरणमा सञ्चालन गर्न समय परिवर्तन गरिएको सूचनामा उल्लेख छ।
वीरगञ्जमा पछिल्ला दिनहरूमा अत्यधिक गर्मी बढ्दै गएपछि जनजीवनसमेत प्रभावित बनेको छ। गर्मीका कारण विद्यार्थीहरूलाई कक्षाकोठामा अध्ययन गर्न कठिनाइ भइरहेको गुनासो बढिरहेका बेला महानगरपालिकाले पठनपाठन समय छोट्याउने निर्णय गरेको हो।
महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख आनन्द लामिछानेद्वारा जारी सूचनामा सम्बन्धित सबै विद्यालयलाई उक्त व्यवस्था अनिवार्य रूपमा कार्यान्वयन गर्न आग्रह गरिएको छ।