वीरगञ्ज महानगरपालिका–१६ स्थित दुर्गा हल नजिक निर्माणाधीन घरमा सेन्ट्रिङ खोल्ने क्रममा भएको दुर्घटनामा एक मजदुरको मृत्यु भएको छ।
शनिबार तल्लो सेन्ट्रिङ खोल्ने क्रममा अचानक फर्काल भत्किँदा महोत्तरी जिल्लाको बिस्रामपुर गाउँपालिका–कल्याणपुर निवासी ३० वर्षीय सुभास पटेल गम्भीर घाइते भएका थिए। दुर्घटनापछि उनलाई तत्काल उद्धार गरी उपचारका लागि भवानी अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मृतक पटेलको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ। घटनाको कारणबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।