पर्साको छिपहरमाई गाउँपालिका स्थित भिस्वा सीमा नाकामा भारतीय नम्बर प्लेटका सवारी साधनको आवागमन सहज बनाउन तथा बन्द रहेको छोटी भन्सार तत्काल सञ्चालनमा ल्याउन माग गर्दै स्थानीयवासीले आन्दोलन सुरु गरेका छन्।
स्थानीय युवा उदयश पाण्डेको नेतृत्वमा आइतबारदेखि सुरु भएको धर्ना तथा आन्दोलन सोमबार पनि जारी रहेको छ। आन्दोलनकारीहरूले भिस्वा सीमा नाकामा धर्ना दिँदै सीमावर्ती क्षेत्रका नागरिकको दैनिक आवागमनलाई सहज बनाउन भारतीय सवारी साधन सञ्चालनको व्यवस्था मिलाउन नेपाल सरकारसँग माग गरेका छन्।
उनीहरूले सीमावर्ती क्षेत्रको विशेष अवस्थालाई मध्यनजर गर्दै भारतीय नम्बर प्लेटका सवारी साधनको आवागमनलाई व्यवस्थित, सहज र व्यावहारिक बनाउनुपर्ने तथा लामो समयदेखि बन्द रहेको छोटी भन्सार कार्यालय तत्काल सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेका छन्।