पर्साको पोखरिया नगरपालिका–९ स्थित हनुमान मन्दिर परिसरमा निर्माणाधीन पार्कमा विभिन्न प्रजातिका बिरुवा रोपेर वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। लायन्स क्लब अफ पोखरियाको आयोजनामा सम्पन्न कार्यक्रम क्लबका अध्यक्ष नेजामुद्दिन समानीको अध्यक्षतामा भएको हो।
कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य तथा पूर्व कृषि मन्त्री जनार्दन सिंह क्षेत्री रहेका थिए। विशिष्ट अतिथिका रूपमा पूर्व नगरप्रमुख दीपनारायण रौनियार, वडा अध्यक्ष नवशाद आलम, लक्ष्मण साह, रामबाबु चौहान तथा लायन्स क्लब अफ पोखरियाकी उपाध्यक्ष आशा चौहानलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमका अवसरमा हनुमान मन्दिरको जग्गा नामसारी प्रक्रियामा विशेष भूमिका निर्वाह गरेका कोरेक्षा दललाई सम्मान गरिएको थियो। प्रमुख अतिथि जनार्दन सिंह क्षेत्रीले दोसल्ला ओढाई सम्मानपत्रसहित सम्मान गर्दै उहाँको योगदानको उच्च प्रशंसा गरेका थिए।