बाराको कलैया उपमहानगरपालिका–२१ मा १३ वर्षीया किशोरीको मृत्यु प्रकरणमा प्रहरीले एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा गाउँका केही युवाबाट भएको दुर्व्यवहार, कुटपिट तथा सामाजिक सञ्जालमार्फत गरिएको सार्वजनिक अपमानपछि घटना भएको देखिएको भन्दै प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।
इलाका प्रहरी कार्यालय सिमराका अनुसार असार १५ गते किशोरी गाउँनजिकैको सार्वजनिक स्थानमा आफ्ना दुईजना चिनजानका युवकसँग कुरा गरिरहेकी बेला केही युवाको समूह त्यहाँ पुगेको थियो। उनीहरूले किशोरी र ती युवकमाथि गालीगलौज, दुर्व्यवहार तथा कुटपिट गरेको आरोप लागेको छ।
अनुसन्धानका क्रममा घटनास्थलमा खिचिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिएको तथा त्यसपछि केही व्यक्तिहरूले किशोरीको घरमा पुगेर अभिभावककै उपस्थितिमा मानसिक दबाब सिर्जना गरेको खुलेको प्रहरीले जनाएको छ।
घटनाको भोलिपल्ट, असार १६ गते, किशोरी आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि मृतककी आमाले संलग्न सबै व्यक्तिमाथि कानुनी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय सिमरामा किटानी जाहेरी दिएकी छन्।