पर्साको जगर्नाथपुर गाउँपालिका–३ स्थित जमुनियाँ गाउँको प्रवेशद्वारमा निर्माण गरिएको पक्की स्वागतद्वारको सोमबार उद्घाटन गरिएको छ।
पूर्व उद्योग राज्यमन्त्री रमेश रिजालले एक कार्यक्रमबीच नवनिर्मित स्वागतद्वारको उद्घाटन गर्नुभएको हो।
जगर्नाथपुर गाउँपालिकाको पालिकास्तरीय बजेटअन्तर्गत विनियोजित दुई लाख ५० हजार रुपैयाँको लागतमा स्वागतद्वार निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीकान्त यादव, उपाध्यक्ष तारा देवी महतो, वडाध्यक्ष, जनप्रतिनिधि, स्थानीय समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले स्वागतद्वारले गाउँको पहिचान, सौन्दर्य र विकासको सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।