नारायणी यातायात व्यवसायी संघको क्षेत्रीय भेला सोमबार वीरगञ्जमा सम्पन्न भएको छ। भेलामा सहभागी वक्ताहरूले यातायात व्यवसायीहरूको हकहित संरक्षणका लागि सरकारसमक्ष सशक्त रूपमा आवाज उठाउन तथा आवश्यक दबाब सिर्जना गर्न व्यवसायीहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा वीरगञ्ज महानगरपालिका–४ का वडाध्यक्ष जगत साह कानु, व्यवसायी हित संरक्षण मञ्चका सल्लाहकार मजिद सिंह, संघका महासचिव सरोजकुमार खनाल, निवर्तमान अध्यक्ष पद्म चौलागाईं, व्यवसायी हिमांशु कुमार दास, वरिष्ठ व्यवसायी जगत रतकाल तथा विशाल रायलगायतले आ–आफ्नो धारणा राखेका थिए।
वक्ताहरूले वर्तमान सरकारले यातायात व्यवसायीका समस्या समाधानमा अपेक्षाअनुसार पहल गर्न नसकेको गुनासो गर्दै व्यवसायीमैत्री नीति तथा कार्यक्रम आवश्यक रहेको बताए। उनीहरूले सवारी साधनको नियमित मर्मत–सम्भार गरी सुरक्षित र गुणस्तरीय सेवा प्रवाह गर्न व्यवसायीहरूलाई आग्रह गरे।
भेलामा व्यवसायीहरू संगठित भएर अघि बढे मात्र यातायात क्षेत्रका चुनौतीहरूको सामना गर्न सकिने तथा व्यवसायलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरिएको थियो।