पर्साको ठोरीस्थित नेपाल–भारत सीमा नाका तथा छतिवन भन्सार कार्यालय तत्काल सञ्चालनमा ल्याउन माग गर्दै थोरी पर्यटन विकास समितिले सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको छ।
समितिका सचिव रवि पौडेलद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा थोरी सीमा नाका ऐतिहासिक, धार्मिक, पर्यटकीय तथा आर्थिक दृष्टिले नेपाल–भारतबीचको महत्वपूर्ण प्रवेशद्वार रहेको उल्लेख गरिएको छ। मधेश प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको थोरीमा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज तथा धार्मिक एवं प्राकृतिक सम्पदाका कारण स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्दै गएको समितिको भनाइ छ।
समितिका अनुसार पर्यटन क्षेत्रमा करिब एक अर्ब रुपैयाँभन्दा बढी निजी लगानी भइसकेको छ। यसबाट सयौँले प्रत्यक्ष तथा हजारौँले अप्रत्यक्ष रोजगारी पाएका छन्। तर सीमा नाका सञ्चालनमा नआउँदा पर्यटकको आवागमन प्रभावित भई स्थानीय पर्यटन व्यवसाय, अर्थतन्त्र तथा समग्र पर्यटन क्षेत्रमा नकारात्मक असर परेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
समितिले सीमा नाका तथा छतिवन भन्सार कार्यालय तत्काल सञ्चालनमा ल्याई पर्यटकको आवागमन सहज बनाउन, आवश्यक सुरक्षा र पूर्वाधार व्यवस्थापन गर्न तथा थोरीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्न सरकारसँग आवश्यक पहल गर्न माग गरेको छ।