प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद हरि पन्तले वीरगञ्जका क्यासिनोमा नेपाली नागरिकको सहज प्रवेश भइरहेको तथा लागूऔषध नियन्त्रण प्रभावकारी हुन नसकेको विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकमा बोल्दै सांसद पन्तले जनसरोकारका विषय पटक–पटक संसदमा उठाए पनि कार्यान्वयन हुन नसकेको गुनासो गरे। उनले जनप्रतिनिधिले उठाएका विषय सदनको अभिलेखमा मात्र सीमित हुने गरेको भन्दै सरकार जनप्रतिनिधिको आवाजप्रति संवेदनशील हुनुपर्ने बताए।
सांसद पन्तले वीरगञ्जका तारे होटलमा सञ्चालित क्यासिनोमा नेपाली नागरिकको सहज प्रवेश भइरहेको दाबी गर्दै त्यसलाई रोक्न सम्बन्धित निकायले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए। उनले पर्साका प्रहरी प्रमुख एसपीको नेतृत्वमा रहेको प्रहरी प्रशासनको भूमिकाप्रति पनि प्रश्न उठाउँदै प्रहरीकै मिलेमतोमा नेपालीहरू क्यासिनो प्रवेश गरिरहेको भन्ने गम्भीर आरोप लगाए।
त्यसैगरी, पर्सा नाकाबाट लागूऔषधको ओसारपसार बढ्दै गएको दाबी गर्दै त्यसको प्रभावकारी नियन्त्रण गर्न प्रहरी प्रशासन असफल भएको उनको आरोप थियो। क्यासिनो र लागूऔषधका कारण धेरै नेपाली आर्थिक तथा सामाजिक रूपमा प्रभावित भइरहेको उल्लेख गर्दै उनले सम्बन्धित निकायलाई निष्पक्ष र प्रभावकारी ढंगले जिम्मेवारी निर्वाह गर्न सरकारसँग माग गरे।