पर्साको ठोरी र भिस्वा नाकाबाट भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारी साधनको नेपाल प्रवेश पुनः सुचारु भएको छ। यससँगै केही सातादेखि रोकिएको सीमापार आवागमन सहज बनेको छ
वीरगञ्ज भन्सार कार्यालयले ठोरी र भिस्वा छोटी भन्सार कार्यालयमा कर्मचारी खटाएर सेवा सञ्चालनमा ल्याएपछि भारतीय सवारी साधनको प्रवेश पुनः सुरु भएको हो। ठोरीबाट यसअघि नै सेवा सञ्चालनमा आइसकेको भए पनि भिस्वा नाकाबाट बुधबारदेखि मात्रै भारतीय सवारीको आवागमन सुचारु भएको भन्सार कार्यालयले जनाएको छ।
भन्सार कार्यालयका अनुसार भारतबाट नेपाल प्रवेश गरी सोही दिन फर्किने भारतीय सवारी साधनले कुनै शुल्क तिर्नु पर्दैन। तर शुल्क नलागे पनि भन्सार पुर्जी भने अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था गरिएको छ। त्यसैगरी नेपालबाट भारत प्रवेश गर्ने नेपाली सवारी साधनले सीमा नजिकको भारतीय क्षेत्र वा रेलवे स्टेसनसम्म पुगेर सोही दिन फर्किने अवस्थामा भारतीय भन्सार पास लिनु नपर्ने व्यवस्था भारतीय पक्षले गरेको जनाएको छ।
यसअघि असार १९ गतेदेखि भारतीय सशस्त्र सीमा सुरक्षा बल ९एसएसबी० ले भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारी साधनको नेपाल प्रवेशमा रोक लगाएपछि सीमावर्ती क्षेत्रमा व्यापार, आवागमन तथा दैनिक जनजीवन प्रभावित भएको थियो। त्यसको विरोधमा ठोरी र भिस्वाका व्यवसायी तथा स्थानीयवासी आन्दोलनमा उत्रिएका थिए। प्रतिनिधिसभामा पर्साका सांसद तेजबहादुर साकेले समेत उक्त विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए। ठोरीका व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए भने भिस्वाका स्थानीयले नाकामै धर्ना दिँदै आन्दोलन गरेका थिए।