पर्साको कालिकामाई गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर चन्दनकुमार चौरसियामाथि गाउँपालिका कार्यालय परिसरभित्रै कुटपिट तथा दुर्व्यवहार भएको घटनाको विरोधमा कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। घटनापछि गाउँपालिकाको सम्पूर्ण सेवा प्रवाह प्रभावित भएको छ।
कर्मचारीहरूले वडा नं। ३ का अध्यक्ष सञ्जयकुमार पटेल, रत्नेश कुशवाहालगायत घटनामा संलग्न रहेको आरोप लागेका व्यक्तिमाथि कानुनबमोजिम कडा कारबाही गर्न माग गरेका छन्। उनीहरूले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै सरकारी कार्यालयमा कार्यरत कर्मचारीको सुरक्षा सुनिश्चित गर्न तथा दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही नभएसम्म आन्दोलन जारी रहने कर्मचारीहरूको चेतावनी छ।