नेपाली कांग्रेस बारा जिल्ला कार्यसमितिमा नेतृत्व परिवर्तन भएको छ। जिल्ला सभापति राजेश यादव अनुशासन समितिको कारबाहीअन्तर्गत निलम्बनमा परेपछि उपसभापति मनोज भट्टलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो।
पार्टीका अनुसार गत प्रदेशसभा उपनिर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारलाई पराजित गराउन भूमिका खेलेको आरोपमा राजेश यादवसहित केही नेताविरुद्ध अनुशासन समितिमा उजुरी परेको थियो। उजुरीमाथि छानबिन सुरु गर्दै समितिले यादवसँग लिखित स्पष्टीकरण मागेको थियो।
निर्धारित समयभित्र स्पष्टीकरण पेश नगरेपछि समितिले दोस्रोपटक पनि लिखित जवाफ बुझाउन आग्रह गरेको थियो। पटक–पटकको आग्रहपछि पनि सन्तोषजनक जवाफ प्राप्त नभएपछि अनुशासन समितिले थप कारबाही प्रक्रिया अघि बढाउने निर्णय गर्दै यादवलाई निलम्बन गरेको जनाएको छ।
पार्टीले अनुशासन समितिको अन्तिम निर्णय नआउञ्जेल जिल्ला कार्यसमितिको नियमित कामकाज प्रभावित नहोस् भन्ने उद्देश्यले उपसभापति मनोज भट्टलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको जनाएको छ। कांग्रेस बाराले पार्टीको संगठनात्मक गतिविधिलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै अनुशासन र संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता पनि जनाएको छ।