आषाढ २४ रौतहटको गौरस्थित एक होटलमा बसेकी युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा एक नेपालीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार राति करिब १ बजे गौर नगरपालिका–४ स्थित होटलमा युवतीमाथि जबर्जस्ती करणी भएको उजुरीपछि जिल्ला प्रहरी कार्यालय रौतहटले उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको हो।
पक्राउ पर्नेमा गौर नगरपालिका–२ निवासी ५० वर्षीय सन्तोष राउत तथा भारतको बिहार राज्य, मुजफ्फरपुर जिल्लाका मोहम्मद नाजमुद्दिन, जितेन्द्र कुमार, अस्मान आलम र आलोक कुमार रहेका छन्। प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी जबर्जस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
घटनाका सम्बन्धमा पीडित युवतीको स्वास्थ्य परीक्षण तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। अनुसन्धान जारी रहेकाले घटनाका थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।