अमेरिका पठाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ आकर्षक तलबसहित रोजगारीका लागि अमेरिका पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
बेरोजगार युवायुवतीलाई अमेरिका पठाइदिने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्कविहीन भएको सम्बन्धमा पीडितले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा पाल्पा जिल्ला रैनादेवी छहरा गाउँपालिका–१ स्थायी घर भई हाल कपिलवस्तुको बाणगंगा नगरपालिका–८ बस्ने ३५ वर्षीय माधव अर्याल पक्राउ परेका हुन्।
प्रहरीका अनुसार अर्यालले अमेरिका पठाइदिने बहानामा पीडितबाट ३ लाख रुपैयाँ लिई ठगी गरेको आरोप छ। उनलाई काठमाडौं महानगरपालिका–१३ ताहाचलबाट पक्राउ गरिएको हो।
पक्राउ परेका अर्याललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।