वीरगञ्ज महानगरपालिकाले स्थानीय साप्ताहिक पत्रपत्रिकालाई पनि लोककल्याणकारी सूचना प्रकाशनका लागि सूचीकरण गर्ने निर्णय गरेको छ। आमसञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिको बैठकले यसअघिको व्यवस्था संशोधन गर्दै साप्ताहिक पत्रपत्रिकालाई पनि सूचीकरण प्रक्रियामा समावेश गर्ने निर्णय गरेको हो।
यसअघि महानगरपालिकाले दैनिक पत्रपत्रिकालाई मात्र सूचीकरण गरी लोककल्याणकारी सूचना उपलब्ध गराउँदै आएको थियो। त्यसका कारण स्थानीय साप्ताहिक पत्रपत्रिकाहरू महानगरबाट प्रकाशित हुने सार्वजनिक तथा लोककल्याणकारी सूचनाबाट वञ्चित हुँदै आएका थिए।
नेपाल पत्रकार महासङ्घ तथा सञ्चार क्षेत्रका विभिन्न सरोकारवालाले महानगरको उक्त व्यवस्था आमसञ्चारसम्बन्धी प्रचलित कानुनको मर्म र समान अवसरको सिद्धान्तविपरीत रहेको भन्दै पटक–पटक संशोधनको माग गरेका थिए। उनीहरूले स्थानीय साप्ताहिक सञ्चारमाध्यमलाई पनि सरकारी सूचनामा समान पहुँच हुनुपर्ने धारणा राख्दै आएका थिए।
समितिका संयोजक शत्रुघ्न नेपालको अध्यक्षतामा बसेको बैठकले यसअघिको निर्णय परिमार्जन गर्दै स्थानीय स्तरमा नियमित रूपमा प्रकाशित हुने साप्ताहिक पत्रपत्रिकालाई समेत सूचीकरण गरी लोककल्याणकारी सूचना प्रकाशन गर्न दिने निर्णय गरेको हो।
महानगरको उक्त निर्णयसँगै अब सूचीकरण भएका स्थानीय साप्ताहिक पत्रपत्रिकाले पनि दैनिक पत्रपत्रिकासरह लोककल्याणकारी सूचना प्रकाशन गर्न पाउने भएका छन्। सञ्चारकर्मीहरूले यस निर्णयले स्थानीय सञ्चारमाध्यमको संरक्षण, प्रवर्द्धन, आर्थिक सुदृढीकरण तथा आमसञ्चार क्षेत्रमा समान अवसर सुनिश्चित गर्न सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।