घरायसी विद्युतीय सामग्री उपलब्ध गराउने भन्दै सर्वसाधारणबाट रकम संकलन गरेको ‘अल्ट्रा अभियान’विरुद्ध ठगीको आरोप लागेको छ। अभियानका सञ्चालकहरु सामान उपलब्ध नगराई करोडौँ रुपैयाँ ठगी गरेको दाबी गर्दै पीडितहरूले जिल्ला प्रशासन कार्यालय पर्सामा सामूहिक उजुरी दर्ता गरेका छन्।
पीडितहरूका अनुसार करिब तीन वर्षअघि सञ्चालनमा आएको उक्त अभियानले प्रत्येक सदस्यबाट ३१ हजार ७५० रुपैयाँका दरले रकम उठाएको थियो। सदस्यता लिएपछि आकर्षक मूल्यमा घरायसी विद्युतीय सामग्री उपलब्ध गराइने आश्वासन दिइए पनि अधिकांश सदस्यले हालसम्म कुनै सामग्री प्राप्त गर्न नसकेको उनीहरूको भनाइ छ।
उजुरीमा केही सदस्यलाई १२ देखि १५ हजार रुपैयाँ बराबरका सामग्री उपलब्ध गराइए पनि अधिकांशलाई कुनै सामान नदिई रकम मात्र असुल गरिएको उल्लेख गरिएको छ। यसरी ठूलो संख्यामा सर्वसाधारणबाट करोडौँ रुपैयाँ संकलन गरिएको र त्यसको उचित हिसाब तथा सेवा नदिइएको आरोप पीडितहरूको छ।
असार ३० गते जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता गरिएको सामूहिक उजुरीमा अभियानका सञ्चालक दिपेश बर्णवाल सुशील सर्राफ, विष्णु काफ्ले र ऋषिकान्त गुप्तालाई प्रतिवादी बनाइएको छ। उजुरी दिनेहरूमा वीरगञ्जका सोनल पटेल, रामजी साह कलवार, जितेन्द्र पाण्डेलगायत रहेका छन्।
पीडितहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न, आफूहरूबाट उठाइएको रकम फिर्ता गराउन तथा यस्ता गतिविधिबाट थप सर्वसाधारण नठगिने वातावरण बनाउन प्रशासनसँग माग गरेका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले उजुरी प्राप्त भएको पुष्टि गर्दै आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।