पर्साको कालिकामाई गाउँपालिकाका कम्प्युटर अपरेटरमाथि कार्यालय परिसरमै भएको कुटपिट तथा दुर्व्यवहारको घटनामा संलग्नमाथि कानुनी कारबाही नभएको भन्दै गाउँपालिकाका कर्मचारीहरूले तेस्रो दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन्।
गत मङ्गलबार कार्यालय समयमै कम्प्युटर अपरेटर चन्दनकुमार चौरसियामाथि वडा अध्यक्षसहित केही व्यक्तिको समूहले कुटपिट तथा दुर्व्यवहार गरेको आरोप छ। घटनापछि पीडित पक्षले प्रहरीमा किटानी जाहेरी दिए पनि मुख्य आरोपितविरुद्ध तत्काल मुद्दा दर्ता र पक्राउ प्रक्रिया अघि नबढाइएको भन्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन्।
दोषीमाथि निष्पक्ष छानबिन गरी कानुनबमोजिम कारबाही गर्न माग गर्दै आन्दोलनरत कर्मचारीहरूले शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले सरकारी कार्यालयभित्र कार्यरत कर्मचारीमाथि भएको आक्रमणलाई गम्भीर रूपमा लिन र दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन प्रशासनसँग माग गरेका छन्।
यता जिल्ला प्रहरी कार्यालय पर्साले घटनामा संलग्न रहेको आरोपमा कालिकामाई गाउँपालिकाका रामबालक साह कानु र अर्विन्द चौरसिया विरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जनाएको छ। घटनामा संलग्न रहेको आरोप लागेका अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान पनि जारी रहेको प्रहरीले जनाएको छ।
कर्मचारीहरूले घटनामा संलग्न सबैमाथि कानुनी कारबाही सुनिश्चित नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने चेतावनी दिएका छन्। आन्दोलनका कारण गाउँपालिकाको दैनिक सेवा–प्रवाहसमेत आंशिक रूपमा प्रभावित भएको बताइएको छ।