दुई महिनादेखिको बक्यौता तलब भुक्तानीको माग गर्दै आन्दोलनमा उत्रिएका वीरगञ्ज महानगरपालिकाका कर्मचारी र महानगर प्रशासनबीच आइतबार सहमति भएको छ। सहमतिसँगै कर्मचारीले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिँदै नियमित कामकाजमा फर्किएका छन्।
तलब भुक्तानीको माग गर्दै कर्मचारीहरू आइतबार बिहानदेखि आन्दोलनमा उत्रिएका थिए। दिनभर कार्यवाहक नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारी प्रतिनिधिबीच भएको वार्तापछि तत्काल एक महिनाको तलब निकासा गर्ने सहमति जुटेको हो।
सहमतिअनुसार एक महिनाको तलब कर्मचारीको बैंक खातामा जम्मा गरिने भएपछि आन्दोलन स्थगित गरिएको कर्मचारी पक्षले जनाएको छ। त्यसपछि कर्मचारीहरू दिउँसो ३ बजेदेखि नियमित रूपमा कार्यालयको काममा फर्किएका छन्।
कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले महानगरको आर्थिक अवस्थालाई मध्यनजर गर्दै तत्काल एक महिनाको तलब भुक्तानी गरिने र बाँकी बक्यौता रकम पनि चरणबद्ध रूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए। प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा भएको उक्त सहमतिपछि कर्मचारीले आन्दोलन अन्त्य गर्ने निर्णय गरेका हुन्।
आन्दोलनका कारण प्रभावित महानगरपालिकाको सेवा–प्रवाह अब पुनः नियमित रूपमा सञ्चालन हुने भएको छ। कर्मचारी प्रतिनिधि मुकेश गुप्ताले कर्मचारीको माग सम्बोधन गर्ने प्रतिबद्धता आएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको र सम्पूर्ण कर्मचारी नियमित काममा फर्किएको जानकारी दिए।