वीरगञ्जको धार्मिक तथा सांस्कृतिक पहिचानका रूपमा स्थापित गहवामाई मन्दिरको वार्षिक विशाल रथयात्रालाई यस वर्ष पनि भव्य, सभ्य र सुरक्षित रूपमा सम्पन्न गर्न वीरगञ्ज महानगरपालिकाले व्यापक तयारी थालेको छ। आगामी साउन ३२ गते आयोजना हुने रथयात्रालाई लक्षित गर्दै महानगर प्रमुख इम्तियाज आलमको अध्यक्षतामा उच्चस्तरीय समन्वय बैठक सम्पन्न भएको हो।
बैठकमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य कार्यालय, ट्राफिक प्रहरी, नेपाल विद्युत् प्राधिकरण, खानेपानी, दमकल, सरसफाइ शाखा तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। रथयात्रालाई व्यवस्थित र प्रभावकारी बनाउन सुरक्षा, ट्राफिक व्यवस्थापन, सरसफाइ, स्वास्थ्य सेवा, विद्युत्, खानेपानी, सञ्चार तथा आपत्कालीन उद्धार सेवासम्बन्धी जिम्मेवारी सम्बन्धित निकायलाई बाँडफाँट गरिएको छ।
बैठकले रथयात्राका क्रममा श्रद्धालुहरूको सहज आवागमन, भीड व्यवस्थापन, आकस्मिक स्वास्थ्य सेवा तथा सम्भावित जोखिम न्यूनीकरणका लागि विशेष कार्ययोजना लागू गर्ने निर्णय गरेको छ। रथयात्रा मार्गको सरसफाइ, सडक मर्मत, आवश्यक स्थानमा बत्तीको व्यवस्था तथा आपत्कालीन सेवाका लागि तयारी अवस्थामा रहने विषयमा पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
महानगर प्रमुख इम्तियाज आलमले गहवामाई रथयात्रा वीरगञ्जको धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक सद्भावसँग जोडिएको महत्वपूर्ण पर्व भएकाले यसको सफल आयोजना महानगरपालिकाको प्राथमिकतामा रहेको बताए। उनले श्रद्धालुहरूले सुरक्षित र सहज वातावरणमा रथयात्रामा सहभागी हुन सक्ने गरी आवश्यक सम्पूर्ण तयारी पूरा गरिने उल्लेख गर्दै सबै सरोकारवाला निकाय र स्थानीयवासीलाई आवश्यक सहयोग गर्न आग्रह गरे।
हरेक वर्ष हजारौँ श्रद्धालुको सहभागिता रहने गहवामाई रथयात्रा वीरगञ्जको प्रमुख धार्मिक पर्वमध्ये एक मानिन्छ। यस वर्ष पनि रथयात्रालाई व्यवस्थित, सुरक्षित र भव्य बनाउन महानगरपालिकाले सम्बन्धित सबै निकायसँग समन्वयलाई प्रभावकारी बनाएको जनाएको छ।