जिल्ला समन्वय समिति पर्साको आयोजनामा जिल्ला सभा तथा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री श्याम पटेलले उद्घाटन गरेका थिए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पटेलले प्रदेश सरकार, स्थानीय तह र जिल्ला समन्वय समितिबीचको समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। विकास निर्माणका योजना जनतामुखी र परिणाममुखी बनाउन तीनै तहका सरकारबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उनले कृषि, भूमि व्यवस्था तथा सहकारी क्षेत्रको सुधार र आधुनिकीकरण प्रदेश सरकारको प्रमुख प्राथमिकतामा रहेको बताए।
कार्यक्रममा पर्सा जिल्लाभित्र सञ्चालित विकास आयोजनाको प्रगति, चालु आर्थिक वर्षका योजना तथा कार्यक्रमहरूको समीक्षा गरिएको थियो। साथै आगामी आर्थिक वर्षमा सञ्चालन गरिने विकास आयोजना, पूर्वाधार निर्माण, कृषि उत्पादन वृद्धि, सेवा प्रवाहमा सुधार तथा स्थानीय विकासका प्राथमिकताका विषयमा विस्तृत छलफल गरिएको थियो।
सभामा जनप्रतिनिधि, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, सरकारी कार्यालयका प्रमुख, विभिन्न निकायका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले विकास योजनाको प्रभावकारी कार्यान्वयन, बजेटको पारदर्शी परिचालन, सेवा प्रवाहमा सुधार तथा प्रदेश, जिल्ला र स्थानीय तहबीचको समन्वयलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको अन्त्यमा जिल्ला समन्वय समितिले आगामी योजनाहरू समयमै कार्यान्वयन गर्दै समग्र विकासलाई गति दिने प्रतिबद्धता व्यक्त गरेको छ।