अमेरिकी भिसा आवेदनका क्रममा पेश गरिएको शैक्षिक प्रमाणपत्रमध्ये एसएलसीको प्रमाणपत्र नक्कली रहेको भन्दै नेपालस्थित अमेरिकी दूतावासले प्रहरीलाई जानकारी गराएपछि एक महिलालाई पक्राउ गरिएको छ।
प्रहरीका अनुसार भिसा आवेदनका लागि पेश गरिएको एसएलसी प्रमाणपत्र नक्कली भएको विषयमा अमेरिकी दूतावासबाट प्राप्त पत्राचारका आधारमा अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानका क्रममा उक्त कार्यमा संलग्न रहेको आरोपमा रामेछाप दोरम्बा शैलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–३२ जडीबुटी बस्दै आएकी ४१ वर्षीया उषा देवी कँडेललाई बिहीबार काठमाडौं महानगरपालिका–३ महाराजगञ्जबाट पक्राउ गरिएको हो।
पक्राउ परेकी कँडेललाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।