सवारी चालक अनुमतिपत्र लाइसेन्स कार्ड वितरणलाई तीव्रता दिँदै यातायात व्यवस्था कार्यालयले सार्वजनिक बिदाको दिनसमेत सेवा सञ्चालन गरेको छ। लामो समयदेखि कार्डको प्रतीक्षामा रहेका सेवाग्राहीलाई छिटो सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालयले अतिरिक्त समय र बिदाको दिन पनि वितरण कार्यलाई निरन्तरता दिएको हो।
आइतबार बिहानदेखि नै कार्यालय परिसरमा लाइसेन्स कार्ड लिन सेवाग्राहीहरूको उल्लेख्य भीड लागेको थियो। आफ्नो पालो पर्खिरहेका सेवाग्राहीहरूले लामो समयपछि कार्ड प्राप्त गर्न पाउँदा खुसी व्यक्त गरेका थिए।
कार्यालयका अनुसार विगत एक–दुई वर्षदेखि कार्ड छपाइ तथा आपूर्तिसम्बन्धी समस्याका कारण ठूलो संख्यामा सेवाग्राही लाइसेन्स कार्डबाट वञ्चित हुँदै आएका थिए। पछिल्ला तीन महिनायता भने ठूलो परिमाणमा कार्ड छपिएर कार्यालयमा आउन थालेपछि वितरण कार्यलाई तीव्र बनाइएको हो।
कार्यालयले हाल पुराना निवेदनलाई प्राथमिकतामा राखेर कार्ड वितरण गरिरहेको जनाएको छ। सेवाग्राहीको चापलाई व्यवस्थित गर्न आवश्यक जनशक्ति परिचालन गरिएको तथा बाँकी सबै प्रतीक्षारत सेवाग्राहीलाई क्रमशः कार्ड उपलब्ध गराइने कार्यालयले जनाएको छ।