वीरगञ्ज महानगर क्षेत्रमा सडक विस्तारको काम तीव्र गतिमा अघि बढेसँगै सडक क्षेत्रभित्र रहेका अतिक्रमित संरचना हटाउने अभियान पनि प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ। सडक डिभिजन कार्यालय हेटौंडाले महानगरपालिका र सुरक्षा निकायको समन्वयमा अतिक्रमण हटाउने कार्यलाई निरन्तरता दिएको हो।
सडक डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर तथा वीरगञ्जका फोकल पर्सन दुर्गाप्रसाद काफ्लेका अनुसार सडक विस्तारको आठ किलोमिटर क्षेत्रमा हालसम्म करिब छ किलोमिटर सडकखण्डका अतिक्रमित संरचना हटाइसकिएको छ। बाँकी करिब दुई किलोमिटर क्षेत्रमा पनि अतिक्रमण हटाउने कार्य निरन्तर जारी रहेको उनले बताए।
उनका अनुसार अभियानअन्तर्गत दैनिक करिब ७०० वटा अतिक्रमित संरचना तथा अवरोध हटाउने काम भइरहेको छ। सडक विस्तारको कामलाई निर्धारित समयमै सम्पन्न गर्न स्थानीयवासी, सम्बन्धित निकाय र सुरक्षा निकायबीच समन्वय गरेर अभियानलाई अघि बढाइएको उनले जानकारी दिए।
सडक विस्तार सम्पन्न भएपछि सवारी आवागमन सहज हुने, ट्राफिक व्यवस्थापनमा सुधार आउने तथा वीरगञ्जको शहरी सौन्दर्य अभिवृद्धि हुने अपेक्षा गरिएको छ। अतिक्रमण हटाउने अभियानमा स्थानीयवासीलाई सहयोग गर्न सम्बन्धित निकायले आग्रहसमेत गरेको छ।