बारा जिल्लाको कलैया उपमहानगरपालिका–११ घोघरियास्थित एक पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ।
प्रहरीका अनुसार स्थानीय सन्तोष पासवानकी छोरी राधिका कुमारी पासवान शनिबार साँझ पोखरीमा नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो।
अस्पतालमा उपचारका क्रममा साँझ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट बसपार्क बाराबाट प्रहरी नायब निरीक्षक विमलेश यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको कमाण्डमा खटिएको टोलीसहित मुचुल्का टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। मृतक बालिकाको शव प्रादेशिक अस्पताल कलैयामा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।