भारत–नेपाल सीमाक्षेत्रमा लागूऔषध तस्करीविरुद्ध सञ्चालन भइरहेको अभियानअन्तर्गत रक्सौल प्रहरीले ठूलो सफलता हासिल गरेको छ। प्रहरीले ९।६० ग्राम ब्राउन सुगरसहित तीन जना लागूऔषध तस्करलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दुई जना नेपाली नागरिक तथा एक जना भारतको रक्सौल निवासी रहेका छन्।
रक्सौलका एसडीपीओ मनीष आनन्द तथा रक्सौल थाना प्रमुख रमेश कुमार महतोको नेतृत्वमा गठन गरिएको विशेष प्रहरी टोलीले गोप्य सूचनाको आधारमा रेलवे स्टेशन रोडस्थित नकाशा होटल नजिक तथा नागा रोडको जिल्ला परिषद् मार्केट क्षेत्रमा एकैसाथ छापा मारेको थियो। घेराबन्दीका क्रममा तीनै जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनीहरूको साथबाट ९।६० ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा बागमती प्रदेशको मकवानपुर जिल्ला, हेटौँडाका २२ वर्षीय दिपेश थिङ, २४ वर्षीय सागर कार्की तथा भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, रक्सौल नगरपालिका–२० निवासी २६ वर्षीय टार्जन आलम रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट लागूऔषध ओसारपसारमा प्रयोग भएको एउटा मोटरसाइकल र तीन थान मोबाइल फोन समेत बरामद गरेको छ। बरामद गरिएका मोबाइलको कल डिटेल तथा अन्य डिजिटल प्रमाणको समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।